काठमाडौं : सहकारीका सञ्चालकहरुलाई आफ्नो जिम्मेवारीबाट नपन्छिन् सहकारी विभागले निर्देशन दिएको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै संचालक सदस्यले अध्यक्ष वा व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने जनाएको हो ।
सहकारी संस्था संचालक समिति, लेखा सुपरीवेक्षण समिति र सम्पूर्ण शेयर सदस्य समेतको सामूहिक जिम्मेवारीमा रहने संस्था भएकाले समस्या आइपर्दा अरुलाई जिम्मेवारी पन्छाएर आफू अलग हुन नपाउने बताएको छ ।
यसका साथै विभागले संचालक सदस्यले संस्थाको हरेक क्रियाकलापमा चासो राखी संस्थाको र सदस्यको बृहत्तर हितमा केन्द्रित रही संस्थालाई बलियो बनाउन सामूहिक प्रतिवद्दताका साथ कार्यसम्पादन गर्न समेत निर्देशन दिएको छ ।
सहकारी संघसंस्था सदस्यहरुको लोकतान्त्रिक प्रणालीबाट संचालक समिति र लेखा सुपरीवेक्षण समिति छनौट भई नियमित र निरन्तर रुपमा संचालन हुने संस्था हो । संस्था राम्रैसंग सञ्चालन हुँदा संस्थागत संलग्नताको पदिय हैसियत सहित आफूलाई परिचय गराउने तर संस्थामा केही समस्या देखिनासाथ संचालक समितिमा त्यत्तिकै राखिदिने गरेको विभागले जनाएको छ ।
संचालक समितिको सदस्य भएपनि आफूलाई केही थाहा छैन, सबै अध्यक्ष र व्यवस्थापकलाई थाहा छ भनी जिम्मेवारीबाट पन्छिन खोज्ने गरेको र केहीले जिम्मेवारीबाट अलग गराइ पाँउ भनि विभागमा आउने गरेको समेत सूचनामा उल्लेख छ ।
Advertisment