Below Menu
Below Menu

करिब छ अर्बको हकप्रद आउँदै, पाइपलाइनमा अधिकांश हाइड्रोपावर 

करिब छ अर्बको हकप्रद आउँदै, पाइपलाइनमा अधिकांश हाइड्रोपावर 

काठमाडौं : सर्वसाधारणका लागि हकप्रद शेयर जारी गर्न सात कम्पनीहरुले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार चालु आर्थिक वर्षको यस अवधिमा उक्त कम्पनीहरुले ५ अर्ब ८३ करोड ९८ लाख ५८ हजार तीन सय रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न आवेदन दिएका हुन् ।

पाइपलाइनमा रहेका कम्पनीहरुले बोर्डको आवेदन पाएसँगै कम्पनीहरुले सर्वसाधारणमा हकप्रद शेयर जारी गर्नेछन् । कम्पनीहरुले चुक्ता पुँजी वृद्धिका साथै बैकको कर्जा तिर्न र निर्माणाधिन परियोजनाका लागि लगानी गर्न हकप्रद जारी गर्न लागेका हुन् ।

हकप्रद निष्काशनको पखाईको रहेका कम्पनीहरुमा अधिकांश हाइड्रोपावर कम्पनी रहेको छ । भने एक डेभलपमेन्ट बैंक रहेको छ । हाइड्रोपावर कम्पनीमा छ्याङदी हाइड्रो, सिंगटी  हाइड्रो इनर्जी, हिमालय उर्जा विकास कम्पनी, अरुण भ्याली हाइड्रोपावर, रिडी पावर, घलेम्दी हाइड्रो र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् ।

छ्याङदी हाइड्रोले १ः१ को अनुपातमा ३८ करोड ६९ लाख ७७ हजार ५ रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद जारी गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ ।

त्यस्तै, सिंगटी  हाइड्रो इनर्जी कम्पनीले शत प्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद जारी गर्न बोर्डमा आवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ बराबरको एक करोड ४५ लाख कित्ता हकप्रद जारी गर्नेछ । बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

सेबोनका अनुसार हिमालय उर्जा विकास कम्पनी शतप्रतिशत हकप्रद निष्कासन गर्न माग गर्दै बोर्डमा पुगेको छ । कम्पनीले १ः१ को अनुपातमा ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता कहप्रद जारी गर्न लागेको हो । हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर कम्पनीले एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको एक करोड ६७ लाख ७९ हजार ६२६ कित्ता हकप्रद जारी गर्न लागेको हो । कम्पनीले जारी गर्न लागेको शतप्रतिशत हकप्रदको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

रिडी पावरले ५० प्रतिशत हकप्रद जारी गर्न सेबोनमा आवेदन दिएको छ कम्पनीले १ः०.५ को अनुपातमा हकप्रद जारी गर्न लागेको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद जारी गर्ने छ भने बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

त्यसैगरी घलेम्दी हाइड्रो २०० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले २ः१ को अनुपातमा हकप्रद जारी गर्न माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले बोर्डको अनुमति पाएसँगै एक अर्ब १० करोड रुपैयाँ बराबरको एक करोड १० लाख कित्ता हकप्रद जारी गर्ने छ । हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

सेबोनका अनुसार नारायणी डेभलपमेन्ट बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । एक बराबरको एकको अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको बैंकको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


 

Advertisment

थप समाचार