काठमाडौं : श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो ।
उक्त शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनी र नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडबीच सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्द श्रेष्ठ नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयमा बिधिवत दर्ता भई संचालनमा रहेको छ । यस कम्पनीको रजिष्टार कार्यालय काठमाण्डौं महानगरपालिका, वडा नम्बर १ थिरवम सडक, टंगाल काठमाण्डौंमा रहेको छ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड नेपालकै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित एकिकृत कुषि व्यवसाय हो ।
श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले कृषि अन्तर्गतको व्यवसाय सन् २००२ मा श्रीनगर एग्रो फार्मको स्थापनाबाट सुरु गरेको थियो । फार्म अन्तर्गत ह्याचरी तथा ब्रीडरबाट कुखुराको चल्ला उत्पादन गर्दै सन् २०१७ देखि श्रीनगर एग्रीटेक इण्डष्ट्रिज प्रालिबाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले शुद्दोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यवसायिक कृषि फार्म स्थापना गरेको छ । त्यस्तैं पाल्पाको तेल्घामा ब्रिडर फार्म संचालनमा ल्याएको छ ।
कम्पनीले व्यापार विस्तारको क्रममा वुटवल, रुपन्देहीमा वद्यशालाको स्थापना गर्ने योजना गरेको छ । कम्पनीले भविष्यमा प्रशोधित मासु उपभोत्तामाझ ल्याउनको लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना रहेको छ ।
कम्पनीले श्रीकिसान इनोभेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्दि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुलाई कृषि खेती, पशुपंक्षी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य कार्य र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।
उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको शेयर सार्वजनिक निष्काशन सम्बन्धि कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएका छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Advertisment