काठमाडौं : चार बैंकसहित पाँच कम्पनीको साढे सात लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीहरुले ७ लाख ४५ हजार ९३५ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले पनि किन्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।
शेयर बिक्रीमा ल्याउने कम्पनीमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक, किसान लघुवित्त वित्तीय संस्था, सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एक्सल डेभलपमेन्ट बैंक रहेका छन् ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंक संस्थापक शेयरधनीको नाममा रहेको २० हजार शेयर संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । उक्त शेयरको मूल्य १४५ रुपैयाँ तोकिएको छ ।
बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनीले भदौ १७ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको शेयर र दर रेट खुलाई बोलपत्र आवेदन पेश गर्नुपर्ने छ ।
शेयरको खरिदमूल्य १०१ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा कम मूल्य अंकित गरी बोलकबोल गरेमा आवेदन रद्द हुुने बैंकले जनाएको छ । शेयर खरिदका लागि न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
त्यस्तै किसान लघुवित्त वित्तीय संस्थाले विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी ३ हजार ६०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको शेयर खरिदका लागि इच्छ्क शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्बन्धीत विवरण खुलाई संस्थाको केन्द्रीय कार्यालय लम्की चुहा ४ बलिया कैलाली वा कर्पोरेट कार्यालय मण्डीखाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
सो समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि प्रचलित कानुन बमोजिम संस्थाले बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री गर्ने जनाएको छ ।
त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले ३ लाख ३४ हजार ८७४कित्ता संस्थापक बिक्रीका लागि ३५ दिने स्रचना जारी गरेको थियो । तर, सो समयावधिभित्र सस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि बैंकले बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गरेको हो ।
उक्त शेयर खरिदका लागि आवेदकले आफूले खरिद गर्न चाहेको शेयरसंख्या र खरिद मूल्य खुलाई १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १७ जना संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउनेगरी शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न इन्छुक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी आफूले खरिद गर्न चाहेको कित्ता खुलाई तोकिएको समयभित्र बैंकको शेयर शाखा लाजिम्पाटमा निवेदन दिनुपर्नेछ ।
त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकले प्रतिकित्ता २०० रुपैयाँका दरले १६ हजार २७५ कित्ता संस्थापक बिक्रीका लागि ३५ दिने स्रचना जारी गरेको थियो । तर, सो समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि बैंकले बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गरेको हो ।
उक्त शेयर खरिदका लागि आवेदकले आफूले खरिद गर्न चाहेको शेयरसंख्या र खरिद मूल्य खुलाई १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।
Advertisment