काठमाडौं : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्यांक सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकको आथिर्क अनुसन्धान विभागले देशको वर्तमान तथा आर्थिक वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको हो । उक्त तथ्यांक अनुसार वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप– समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ८.६५ प्रतिशत रहेको छ । गत असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।
राष्ट्र बैकका अनुसार आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशतले बढ्यो
आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ लाख ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो ।
समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ ।
चालु खाता एवम् शोधनान्तर स्थिति
आर्थिक वर्ष २०७९/८० मा चालु खाता ७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ६२ खर्ब ३ अर्ब ३८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको छ ।
समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई रु.७ अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ९ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रहेको थियो ।
समीक्षा वर्षमा शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति
२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा गत असार मसान्तमा २३.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ७४ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत असार मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई १ खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार वस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ४७ खर्ब ९७ अर्ब पुगेको छ ।
Advertisment