काठमाडौं : अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा बाँडफाँट भएको छ । कम्पनीको आईपीओ सोमबार बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालय बत्तिसपुतलीमा बाँडफाँट भएको हो ।
अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १३ लाख ४५ हजार ४१८ जनाले १ करोड ५१ लाख ५६ हजार ४४० कित्ताको लागि आवेदन दिएका थिए । मागभन्दाबढी आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । आवेदन दिएका मध्ये १ लाख ९५ हजार ३२७ जनाले १०/१० कित्ताका दरले शेयर पाएका हुन् । साथै, सोहि मध्येका ९ जनाले थप १/१ कित्ता गरी ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले जारी पूँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।
यसका साथै कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ७६५ कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४४ हजार ४१२ कित्ता शेयर सामुहिक लगानी कोष लागि छुट्याएको थियो छ । जसमध्ये वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको १ लाख ९८ हजार ८२४ कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न गरेको थियो ।
Advertisment