काठमाडौं : सोनापुर मिनिरल्स कम्पनीले आजदेखि प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँको ४० प्रतिशत अर्थात एक अर्ब २३ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ प्रति शेयर एक सय रुपैयाँ अंकित मुल्यमा एक करोड २३ लाख २ सय कित्ता शेयर जारी गर्न लागेको हो ।
जसमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १०० रुपैयाँ अंकित दरमा १२५ रुपैयाँ प्रिमियम थप गरी २२५ रुपैयाँ अंकित दरमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्काशन गरेको हो ।
यसका साथै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि अंकित मूल्य १०० रुपैयाँमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाको दरले १० लाख ७६ हजार २६८ कित्ता शेयर जारी गर्न लागेको हो ।
कम्पनीको उक्त शेयरमा दाङ र रोल्पाका स्थानिय बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्युनतम १० कित्ता देखि अधिकतम १० लाख ७६ हजार २६८ कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ ११ गते हुनेछ भने ढिलोमा भदौ २६ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ ११ गतेभित्र आवेदन दिनु पर्नेछ ।
आईपीओ खरिदका लागि स्थानिय बासिन्दाले आयोजना स्थल, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, कुमारी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा र मेरो शेयर प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
Advertisment