काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले एक अर्ब ६ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १२.११ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ९४ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै संस्थाको नाफामा उछाल आएको हो ।
गत असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी १४.३२ प्रतिशतले बढेर २ अर्ब ८५ करोड ३४ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ११.८७ प्रतिशतले बढेको छ । त्यस्तै सञ्चालन नाफा ५.७१ प्रतिशतले बढेर एक अर्ब ५४ करोड १८ लाख रुपैयँ पुगेको छ ।
कम्पनीको नाफा बढेपनि संस्थाको प्रतिशेयर आम्दानी भने घटेको छ । अघिल्लो आवमा ४० रुपैयाँ ७६ पैसा रहेको संस्थाको प्रतिशेयर आम्दानी घटेर गत असार मसान्तसम्म आइपुग्दा ३७ रुपैयाँ ४५ पैसामा झरेको छ । त्यस्तै यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा पनि बढेर ०.८३ प्रतिशतबाट बढेर १.७२ प्रतिशत पुगेको छ ।
Advertisment