काठमाडौं : मर्जरमा गएका जीवन बीमा कम्पनीलाई व्यवसाय विस्तारमा सकस देखिएको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको गत असार मसान्तसम्मको तथ्यांकमा यस्तो देखिएको हो ।
प्राधिकरणका अनुसार यस अवधिमा अधिकांश बीमा कम्पनीको व्यवसाय बढेपनि मर्जरमा गएका दुई बीमा कम्पनीहरुको व्यवसाय घटेको छ । गत असार मसान्तसम्म मर्जरमा गएका प्रभु महालक्ष्मी र हिमालयन लाइफको व्यवसाय घटेको देखिएको हो ।
हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले गत असार मसान्तसम्म एक खर्ब ४२ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले एक करोड ४१ लाख ३७ हजार १०२ बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरुको व्यवसायमा २.६७ प्रतिशतको वृद्धि रहेको पाइएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले एक करोड ३० लाख ९९ हजार ६३२ बीमालेख बिक्रीगरी एक खर्ब ३६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
गत असार मसान्तसम्म १४ अर्ब रुपैयाँ भन्दाढबीका बीमा पोलिसी सरेन्डर हुँदा बीमा कम्पनीहरुको व्यवसायमा सामान्य वृद्धि देखिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । आर्थिक मन्दीको असर बीमा क्षेत्रमा देखिए पनि व्यवसाय विस्तार वृद्धिदर भने सन्तोषजनक रहेको बीमा कम्पनीहरुको भनाई छ ।
यस अवधिमा सञ्चालनमा रहेका नौं बीमा कम्पनीहरुको व्यवसाय बढेको छ । गत असार मसान्तसम्म कम्पनीहरुको नाफा न्युनतम ०.५९ प्रतिशत देखि अधिकतम १८.२६ प्रतिशतसम्मले बढेको छ ।
मर्जरमा गएका कम्पनीलाई व्यवसाय विस्तारमा सकस
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार मर्जरमा गएका केही कम्पनीहरुको व्यवसाय भने खस्किएको छ । गत असार मसान्तसम्म आइपुग्दा मर्जरमा गएका कम्पनीहरुमध्ये हिमालयन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा व्यवसाय घटेको छ ।
यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय ४.२५ प्रतिशतले घटेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय ८.१२ प्रतिशले घटेको छ । अघिल्लो आवको सोही अवधिमा १५ अर्ब ६० करोड ६५ लाख रुपैयाँ नाफा कमाएको हिमालयन लाइफ इन्स्योरेन्स (साविकको गुराँस, युनियन र प्रिमियम) ले गत असार मसान्तसम्म १४ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, मर्जरमा गएको अर्को कम्पनी महालक्ष्मी प्रभु लाइफले गत असार मसान्तसम्म ३ अर्ब ६५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा उक्त कम्पनी (साविकको प्रभु र महालक्ष्मी) कम्पनीले ३ अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क अर्जन गरेको थियो ।
व्यवसाय घटेका अन्य कम्पनी
प्राधिकरण अनुसार असार मसान्तसम्म व्यवसाय घटेका कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन कम्पनीको व्यवसाय ४.१८ प्रशिततले घटेको छ भने राष्ट्रिय बीमा संस्थानको १.९६ प्रतिशत र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय ३.९१ प्रतिशतले घटेको छ ।
गत असार मसान्तसम्म राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड ९८ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७८ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
आईएमई लाइफको व्यवसायमा छलाङ
गत आवको चौथौ त्रैमाससम्म सर्वाधिक बीमा व्यवसाय गर्नेमा आईएमई लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा कम्पनीले ३ लाख १८ हजार २९४ बीमालेख बिक्री गरी ४ अर्ब १८ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय १८.२६ प्रतिशतले बढेको हो ।
अन्य कम्पनीले कति संकलन गरे बीमा शुल्क
प्राधिकरणका अनुसार गत असार मसान्तसम्म नेशनल लाइफ इन्स्योरेन्सको व्यवसाय १४.४९ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले १७ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जबकी अघिल्लो आवको सोही अवधिमा कम्पनीले १४ अर्ब ३३ करोड ९६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो ।
त्यस्तै, यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ३७ अर्ब १७ करोड ५१ लाख, मेट लाइफले ५ अर्ब २६ करोड २२ लाख, एशियन लाइफले ७ अर्ब एक करोड ६९ लाख, सन नेपाल लाइफले ३ अर्ब ७८ करोड ५९ लाख, सिटिजन लाइफले ५ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
त्यसैगरी, गत असार मसान्तसम्म सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड १५ लाख, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६७ करोड ६ लाख रुपैयाँ, प्रभु लाइफले २ अर्ब ७ करोड ६४ लाख र महालक्ष्मी लाइफले एक अर्ब ५८ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
Advertisment