नबिल र एनएमबी बैंकको करिब ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

नबिल र एनएमबी बैंकको करिब ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं : दुई वाणिज्य बैंकहरुको करिब ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । नबिल र एनएमबी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख ९३ हजार ५४० कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।

Sponsored Advertisement

नबिल बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख ८२ हजार ८०८ कित्ता शेयर संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको थियो । उक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुको आवेदन नआएकोले बैंकले संस्थापक शेयरधनीवाहेक अन्य व्यक्ति तथा संस्थामा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीदका लागि आगामी ७ दिनभित्र बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्मेन्ट बैंकिङ नक्साल नारायणचौरबाट आवेदन दिन सकिने बैंकले जनाएको छ । साथै उल्लेखित शेयरको मूल्य निर्धारण बिक्रेता र खरिदकर्ताको आपसी सहमतिमा कायम गरिने र शेयर बिक्री गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बिक्रेतामा निहित रहने बैंकले जनाएको छ । 

त्यसैगरी एनएमबी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १० हजार ७३२ कित्ता शेयर संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको उक्त शेयर खरिदका इच्छुक संस्थापक शेयरनीहरुले लागि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयरसंख्या र मूल्य खुलाई आवेदन दिन सक्नेछन् ।

सूचना प्रकाशित भएको ३५ दिन शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।
 

थप समाचार