काठमाडौं : मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। कम्पनीले प्रबर्धन गरिरहेको ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ भने प्रति मेगावाट कुल अनुमानित लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.५८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २७.७८ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २७ वर्ष १ महिना बाँकी रहेको छ।
Advertisment