Below Menu
Below Menu

इमेज सहकारीका सञ्चालक र कर्मचारी जेल चलान, अध्यक्षसहित ७ जना फरार

इमेज सहकारीका सञ्चालक र कर्मचारी जेल चलान, अध्यक्षसहित ७ जना फरार

बागलुङ : सदस्यहरुको बचत रकम हिनामिनाको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्था, बालुङका सञ्चालक र कर्मचारीलाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
सहकारीले एक अर्ब ५१ करोड हिनामिना गरेको भन्दै एक हजार चार सय ८१ जना बचतकर्ताले एक अर्ब ३० करोड बिगो दाबी गरेर सहकारीका कर्मचारी र सञ्चालक गरी ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गरेका थिए ।
बचतकर्ताको उजुरीपछि प्रहरीले सञ्चालक भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी रोकालाई असार १ गते ताराखोलाबाट पक्राउ गरेको थियो भने असार ११ गते इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक किसानलाई पक्राउ गरेको थियो । 

सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख ढोरपाटन नगरपालिका–१ वुर्तिवाङ निवासी देवकुमार नेपाली, गलकोट नगरपालिका–११ निवासी रुपा विक, ढोरपाटन नगरपालिका–१ निवासी डोरबहादुर परियार, ढोरपाटन–१ निवासी सुनिल नेपाली, सोही ठाउँका अनिल नेपाली, बडिगाड गाउँपालिका–२ बोहोरागाउँ निवासी झकबहादुर साही र निसीखोला गाउँपालिका–१ निवासी अनिता बुढामगरको खोजीकार्य भइरहेको छ ।

सहकारीका सञ्चालक र कर्मचारीलाई आठदेखि १० वर्ष कैद सजायको माग गरेर मुद्दा दर्ता गराएको जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले जानकारी दिए । बचतकर्ताको अर्बौ रकम हिनामिना गरेर सहकारीका संस्थापक अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिका नगरप्रमुख नेपाली डेढ महिनादेखि बेपत्ता छन् ।

नेपाली बेपत्ता भएपछि बचतकर्ता चरणबद्ध आन्दोलनमा छन् । उनीहरूले जिल्लाका राजनीतिक दल र विभिन्न सरोकारवाला निकायसँग आफ्नो रकम फिर्ता गर्नका लागि सहजीकरण गरिदिन आग्रह गरेको पीडित तथा संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए ।

Advertisment

थप समाचार