काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्रका लागि बिहीबार (असार २१ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
‘विकास ऋणपत्र ०८६ ‘च’ नाम दिइएको उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले समेत खरिद गर्न सक्नेछन्। यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
ऋणपत्र धितो राखी कर्जा समेत लिन पाइनेछ। ऋणपत्र निस्कासित रकमको ८५ प्रतिशत प्रतिस्पर्धी र १५ प्रतिशत अप्रतिस्पर्धी रुपमा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘अप्रतिस्पर्धी बोलबालालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलबालालाई बिक्री गरिनेछ। अप्रतिस्पर्धी बोलबालालाई छुट्याइएको रकमभन्दा बढी रमकको बोल प्राप्त हुन आएमा बोलबालालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।’
त्यस्तै, ब्याजदर निर्धारण गर्दा बोलबालाले कबोल गरेको ब्याजदरलाई सानादेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कट-अफ् ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ। यसरी कायम भएको एकल ब्याजदरमा ऋण उपलब्ध गराइने जनाइएको छ।
ऋणपत्रका लागि घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कका लागि आवेदन दिन पाइनेछ।
Advertisment