काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले झेल्दै आएको तरलता संकट सहज बन्दै गएको छ । केही साता यता बैंक तथा वित्तीय संस्थामा निक्षेप ह्वातै बढेको छ ।
बैशाख महिना यता बैंकहरुमा १ खर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । त्यस्तै चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुमा मात्रै ३ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप बढेको छ । निक्षेप बढेपछि बैंकहरुले आधार दरमै दिन थालेका छन् । बैंकहरुमा निक्षेप बढ्दै जाँदा कर्पोरेट र ठूला ऋणीहरुले आधार दरमै ऋण पाउन थालेका हुन् । २०८० वैशाख २ सम्ममा बैंक तथा वित्तीय संस्थामा ५४ खर्ब ७३ अर्ब निक्षेप थियो । उक्त निक्षेप बढेर असार १४ गतेसम्म आईपुग्दा ५५ खर्ब ९९ अर्ब पुगेको छ । त्यस्तै कर्जा प्रवाह ४८ खर्ब ५९ अर्ब पुगेको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.६२ प्रतिशतमा झरेको छ ।
असार महिनाको १४ दिनमै वित्तीय प्रणालीमा ३१ अर्ब निक्षेप थपिएको छ । ३१ अर्ब निक्षेप थपिदा कर्जा प्रवाह भने ५ अर्ब रुपैयाँ मै सिमित छ । हाल पछिल्लो समय अर्थतन्त्रमा छाएको मन्दीले व्यापार व्यवसाय ठप्प छ ।
बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा प्रवाह नहुँदा लागत उच्च भएर आम्दानी कम हुन्छ । सोही कारण बैंकहरुले कर्पोरेट र ठूला ऋणीहरुलाई आधार दरमै ऋण दिन थालेका हुन् ।
Advertisment