काठमाडौं : केही समय अघि ब्रोकर लाइसेन्स पाएका कम्पनीका सञ्चालकहरूले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा उनिहरुले ब्राेकर लाइसेन्सकाे रोकिएको प्रक्रिया खुलाएर तत्काल कारोबार गर्न सहजिकरण गराउनका लागि पहल गरिदिन ओली समक्ष अनुरोध गरेका छन् ।
नयाँ ब्रोकरका सञ्चालकहरूसँग बाेल्दै उनले ब्रोकर लाईसेन्स खुलाउन पार्टीको ध्यानाकर्षण भएकाे आश्वासन दिएका छन् । अध्यक्ष ओलीले ब्रोकर लाइसेन्स खुलाउन आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।
प्रतिनिधि सभाको अर्थ समितिले न्यूनतम मापदण्ड पूरा गरेको वा नगरेको सम्बन्धमा अध्ययन गर्ने भन्दै तत्कालका लागि नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गरेको छ । अर्थ समितिको यो निर्देशनपछि ब्रोकर लाईसेन्स पाएका नयाँ सञ्चालकहरू मारमा परेका छन् । कारोबार सुरू गर्न भनेर सबै तयारी गरिसकेका उनीहरू यतिबेला अन्यौलमा छन् ।
न्यू स्टक ब्रोकर एशोसिएशन नेपाल पनि ब्रोकर लाइसेन्स प्रक्रिया रोक्नेसम्बन्धी अर्थ समितिको निर्णयको विरोधमा उत्रिइसकेको छ । नयाँ लाईसेन्स पाएका ब्रोकर कम्पनीहरू मिलेर स्थापना गरिएको यो एशोसिएशनले अर्थ समितिको निर्देशन खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।
यसअघि नयाँ ब्रोकर लाईसेन्स पाएका कम्पनीका सञ्चालकहरू नेप्सेमा पनि पुगेर आफूहरूलाई तत्काल कारोबार गर्न सहजिकरण गराईदिन नेप्सेसँग आग्रह गरेका थिए ।
Advertisment