Below Menu
Below Menu

पाँच हजार विद्यार्थीलाई विकू सहकारीको वित्तीय साक्षरता

पाँच हजार विद्यार्थीलाई विकू सहकारीको वित्तीय साक्षरता

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था पाँच हजार विद्यार्थी समक्ष पुगेको छ । विश्वभर ‘ग्लोबल मनि विक’ मनाई रहँदा विकू बचत ३८ विद्यालयका पाँच हजार विद्यार्थीसमक्ष पुगेको छ।

विकू बचतले नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा गरी ३८ वटा विद्यालयमा ‘विकू बाल बचत क्लब’ समेत गठन गरेको छ। यी विद्यालयहरुमा विकू बचतले ‘स्कुल स्कुलमा विकू’ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम प्रदान गर्दै आइरहेको छ ।

कक्षा ८, ९ र १० का करिब ५ हजार विद्यार्थीलाई वित्तीय साक्षरता, सहकारी शिक्षा, फुड फेस्टिबल, अतिरिक्त क्रियाकलाप लगायत उद्यमशिलता प्रवद्र्धन शिक्षा प्रदान गरिएको विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए।

विकूले कम्तिमा ९ सदस्यीय ‘विकू बाल बचत क्लब’ गठनका लागि सहजिकरण गर्दै आएको छ। ३८ वटा विद्यालयका गठन गरिएका क्लबको समितिमा मात्रै ३४२ जना विद्यार्थी रहेका छन् । क्लबहरुले बचतको व्यवस्था सहित वार्षिक कार्य योजना बनाउने, विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्ने लगायतका कार्यक्रम समेत गर्दै आएको छ। शुरुवाती अवस्थामा क्लब व्यवस्थापनका लागि विकूले प्रत्येक क्लबलाई ५ हजार रुपैयाँ र आवश्यक स्टेशनरी सामग्री समेत उपलब्ध गराएको विकूका गैरवित्तीय विभाग प्रमुख मदन सापकोटाले जानकारी दिए । विद्यार्थीलाई पठनशैली र लेखनशैलीको विकासका लागि विज्ञको सहभागितामा प्रोत्साहित कार्यक्रम समेत गर्ने गरेको उउनले बताए।

आम्दानी र खर्चलाई सन्तुलन राख्दै बचत गर्नुपर्छ भन्ने भावनाको विकास गराउन यो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले बताए । सहकारी संस्था, युवा र प्रविधिलाई जोड्ने गरी विकूको वार्षिक नीति अनुरुप नै साधारण सभाबाट अनुमोदन गरिएको यो कार्यक्रम सञ्चालन गरिएको सापकोटाले बताए। विद्यार्थीको बचत गर्ने बानीको विकास, वित्तीय साक्षरता, समूहमा काम गर्ने बानीको विकास, नेतृत्व विकास र बाल बचत सदस्यमा वृद्धि गर्ने लक्ष्य सहित कार्यक्रम सञ्चालनमा रहेको छ ।

‘विकू बाल बचत क्लब’ मा एक जना शिक्षक प्रतिनिधि हुनेछन् । शिक्षक प्रतिनिधिले आवश्यक चाँजोपाजो मिलाउने छन् । एसईई उत्तीर्ण भएपछि विद्यार्थीले नेतृत्व हस्तान्तरण गर्नेछन् । विद्यार्थीले खाजा वा फजुल खर्च, जन्मोत्सव लगायतमा हुने खर्च कटौती गरी दैनिक १० रुपैयाँ सम्म बचत गर्ने गरेका छन् । त्यसबाहेक उनीहरुले थप रकम समेत बचत गर्ने गरेका छन् । बचत रकमको बाँडफाड वा खर्च यसको अन्य प्रयोग लगायतका विषयमा स्वयम् विद्यार्थी, क्लबहरु एवं विद्यालयले निर्णय गर्छन् । बचतका लागि विद्यार्थीसँग अनिवार्य माग नगर्ने सो प्रयोजनका लागि अभिभावकसँग समेत माग नगर्ने लगायतका नियम समेत बनाइएको सिईओ पौडेलले बताए।

विकूले यस कार्यक्रम थप अन्य विद्यालयमा समेत विस्तार गर्ने योजनामा राखेको पौडेलले बताए।

Advertisment