‘आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली आवश्यक’

‘आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली आवश्यक’

काठमाडौं : अर्थतन्त्रलाई चलायमान बनाउन एक अंकको ब्याजदर कायम गरिनुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताएका छन्।

Sponsored Advertisement

हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लले बताए । तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि एक अंकको ब्याजदर आवश्यक रहेकोमा जोड दिए।

आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताए।

उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाई छ।

अर्थतन्त्रको वर्तमान अवस्थालाई सुधार गर्न सरकार निजी क्षेत्र मिलेर हातेमालो गर्नुपर्ने अध्यक्ष मल्लले बताए । उनले भने, ‘अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमकै अवस्थामा छ । रोजगारी सिर्जना हुन सकेको छैन । उत्पादन हुन नसक्दा कृषिजन्य बस्तुहरु समेत आयत गर्नु पर्ने अवस्था आउनु विडम्बना छ ।’

थप समाचार