काठमाडौं : अब उच्च गुणस्तरको टाइल्स नेपालमै बन्ने भएको छ। नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुपले ३ मिलियन स्क्वायर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो।
भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने सम्झौता भएको छ।
काठमाडौंको म्यारियट होटलमा सञ्चारकर्मी तथा कम्पनीका प्रतिनिधिको उपस्थितिमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिइएको हो।
‘मुरारका ग्रुप सदैव गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्न प्रतिबद्ध छ,’ मुरारका ग्रुपका प्रबन्ध निर्देशक पशुपति मुरारका भने, ‘यो सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपुर्ति गर्नेछ भन्ने विश्वास छ ।’
सहकार्यले नेपालमा रोजगारी सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्ने मुरारको भनाइ छ ।
त्यस्तै सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक अभिषेक सोमानीले नेपालको प्रतिष्ठित व्यावसायिक घराना मुरारका ग्रुपसँग सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बताए । सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ ।
Advertisment