Below Menu
Below Menu

वित्तीय सहकारीहरुको विकासको सम्भावना पहिल्याउने थलो ‘सिईओ वर्कशप’

वित्तीय सहकारीहरुको विकासको सम्भावना पहिल्याउने थलो ‘सिईओ वर्कशप’

बचत ऋण सहकारीहरुको एकमात्र छाता केन्द्रीय संघ नेफ्स्कून विगत ३५ वर्षदेखि समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्न क्रियाशील छ । ७६ जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने करिब ४ हजार ५ सय बचत तथा ऋण सहकारी संस्थाहरु, ६५ वटा जिल्ला बचत संघ र ३ वटा प्रदेश बचत संघहरु मार्फत करिब ३६ लाख व्यक्तिगत सदस्यहरु नेफ्स्कूनमा जोडिएका छन्।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले यही फागुन २४ र २५ गते काठमाडौंमा प्रमुख कार्यकारी अधिकृतहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) आयोजना गर्दैछ । हरेक तीन वर्षमा आयोजना गरिँदै आएको गोष्ठीको व्यवस्थापन नेफ्स्कून साकोस म्यानजर्स क्लबले गर्दैछ।

बचत ऋण सहकारी अर्थात् साकोसहरुको अहिलेको टड्कारो आवश्यकता प्रविधियुक्त सेवा  भएकोले गोष्ठीको थिम “प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन” तय गरिएको छ । गोष्ठीमा स्वदेशी तथा विदेशी विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछ । देशभरका साकोसबाट गरी गोष्ठीमा करिब ५ सय जनाको सहभागिता रहने छ।

देशभरका बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने व्यवस्थापन प्रमुखहरुको क्षमता अभिवृद्धि गर्नु हाम्रो दायित्व हो । विशेषतः अहिले कोभिड १९ र रुस–युक्रेन युद्धपछि विश्व अर्थतन्त्रमा आएको मन्दीसँगै नेपालका सहकारीहरुमा पनि त्यसको प्रभाव परेको छ । खासगरी वित्तीय सहकारीहरुमा तरलता लगायत अन्य समस्या देखिएको छ । विश्वमा साकोस अभियानमा कस्ता खालका समस्या आयो र समाधान कसरी भयो भन्ने सन्दर्भमा पनि यो गोष्ठीमा छलफल हुनेछ।

 

वित्तीय सहकारी ऐनको आवश्यकता र त्यसको विश्व अभ्यास एवं नेपालमा त्यसको आन्तरिकीकरण गर्दै, महत्वलाई उजागर गर्ने तथा सम्पूर्ण साकोसहरुको छवि निर्माणको लागि साझा घोषणापत्र लिएर जाने छौं।


गोष्ठीको उद्देश्य
सुशासन, प्रविधि र अहिलेको अवस्थामा साकोसहरुको छवि निर्माणको काम गर्नुपर्ने भएकाले “प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन” थिमको रुपमा अघि सारेका हौं । वित्तीय सहकारीहरुको दर्शन र मुल्यमा आधारित, व्यावसायिक जनशक्ति विकासको लागि पनि गोष्ठी आयोजना गरिएको हो।

विश्वव्यापी नवीनतम अभ्यास र सिकाइमार्फत व्यवस्थापकहरुको ज्ञान, सीप र प्रविधिलाई अवलम्बन गरेर त्यसलाई हस्तान्तरण गर्ने गोष्ठीको उदेश्य छ । राष्ट्रिय स्तरमा भएका नविनतम र सफलताका कथाहरु आदानप्रदान गर्ने, वित्तीय सहकारीको लागि विकास भएका नविनतम औजारहरु र त्यसको आन्तरिकीकरणका लागि दिशानिर्देश गर्ने अर्को उद्देश्य रहेको छ । साकोसहरुमा कार्यरत जनशक्तिहरुलाई उत्प्रेरणामार्फत तनावरहित वातावरणमा कार्य सम्पादनको लागि अभिप्रेरित गर्ने लक्ष्य छ।

वित्तीय सहकारीहरुमा अहिले विकासको सम्भावना पनि पहिचान गर्नुपर्ने भएको छ । संविधानले अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको अवस्थामा अर्थतन्त्रलाई बलियो बनाउने प्रक्रियामा कसरी समाहित हुन सकिन्छ भने विषयमा पनि गोष्ठीमा छलफल हुनेछ । वित्तीय सहकारीहरुलाई उत्पादनमा आधारित हुन र त्यसतर्फ लगानी प्रोत्साहन गर्ने उद्देश्य छ । बचतऋण सहकारी आफैं उत्पादनमा जाने भन्दा पनि सदस्यमार्फत उत्पादनमा जान प्रेरित गर्ने गोष्ठीको लक्ष्य हो । अहिले समग्र वित्तीय सहकारीको समस्या समाधानका लागि छुट्टै वित्तीय सहकारी ऐनको आवश्यकता र त्यसको विश्व अभ्यास एवं नेपालमा त्यसको आन्तरिकीकरण गर्दै, महत्वलाई उजागर गर्ने तथा सम्पूर्ण साकोसहरुको छवि निर्माणको लागि साझा घोषणापत्र लिएर जाने गोष्ठीका उद्देश्य रहेका छन्। 

सहभागिताका आधारहरु
गोष्ठीमा सहभागी हुन सबै साकोसका व्यवस्थापकहरुलाई खुल्ला आव्हान गरिएको छ । हामीसँगै आवद्ध र नभएका सबै साकोसका व्यवस्थापकहरु  सहभागी हुन पाउनुहुनेछ ।  व्यवस्थापन प्रमुख भई कार्य गरिरहेका ४ सय ५० जना व्यक्तिलाई गोष्ठीमा सहभागी गराउने योजना छ । उहाँहरुले अनलाइबाट पनि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ भने नेफ्स्कुनको विभिन्न जिल्लामा रहेका फिल्ड कार्यालयहरुबाट पनि नाम दर्ता हुने व्यवस्था मिलाएका छौं।

अहिलेसम्म २५० जनाले रजिष्ट्रेशन गरिसक्नु भएको छ । कम्तीमा स्नातक गरेका र संस्थामा व्यवस्थापन प्रमुख भई कार्य गरेका व्यक्तिहरु गोष्ठीमा सहभागी हुन सक्नुहुन्छ । सदस्य संस्थाबाट ४ सय जना, सदस्य नभएका संस्था, नेपाल राष्ट्र बैंक र विभिन्न निकाय तथा नेफ्स्कुनको व्यवस्थापन र श्रोत व्यक्तिसहित ५२५ जना गोष्ठीमा सहभागी हुने अपेक्षा हाम्रो छ । हामीले फागुन १३ सम्म रजिष्ट्रेशनको समय तय गरेका थियौं । अहिले समय थप गरेर फागुन १७ गतेसम्म रजिष्ट्रेशन गर्न सक्ने गरी व्यवस्था मिलाएका छौं । सहभागीको नाम दर्तापश्चात् हामीले विभिन्न तयारी गर्नुपर्ने हुन्छ । तयारी व्यवस्थापनको लागि केही समय चाहिने भएकाले १७ गतेसम्मको लागि समय बढाएका हौं। 


ज्ञान, सीप, र क्षमता प्रदान गर्ने थलो  
विश्वमै आर्थिक मन्दी पछिको परिदृश्य र नेपालमा त्यसले ल्याएको परिघटनाले गर्दा सहकारी व्यवस्थापनमा अहिले चुनौती थपिँदै गएको छ । सहकारीमा समस्या आउनुको कारण के हो ? समाधानका उपायहरु के के हुन् ? भन्ने सन्दर्भमा गोष्ठीमा छलफल हुन्छ । विश्व ऋण परिषद् पनि हाम्रो फेडरेशन भएको कारण उसको अनुभव पनि हामी साट्छौं । एशियाली ऋण महासंघबाट पनि प्रतिनिधिहरु आउनुहुन्छ । उहाँहरुले सहकारीको अहिलेको अवस्थामा कसरी छवि निर्माण गर्न सकिन्छ भनेर कार्यपत्र नै प्रस्तुत गर्नुहुनेछ । राष्ट्र बैंक, विभिन्न निकाय र विषयविज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने भएकाले यो गोष्ठी फलदायी हुनेछ । कार्यपत्रमाथि टिप्पणी र छलफल भएर एउटा मार्गप्रशस्त गर्ने हाम्रो ध्येय छ।

साकोसहरुमा कार्यरत उत्कृष्ट व्यवस्थापकहरुबाट पनि आफ्नो अनुभव आदानप्रदान हुनेछ । उहाँहरुको अनुभवका आधारमा सहकारीको अहिलेको समस्यालाई समाधानका लागि निकास निस्कने विश्वास लिएका छौं । विश्व अर्थतन्त्रमा अहिले परेको असर र त्यसले भित्राएका समस्याहरु एवं नेपालमा परेको प्रभाव र आगामी कार्यदिशाको बारेमा पनि गोष्ठीमा प्रस्तुतिकरण हुनेछ । साकोस अभियानका वर्तमान चुनौतिहरु के के छन् ? र साकोसको सम्भावना के छन् भन्ने सन्दर्भमा पनि प्रस्तुतिकरण रहनेछ । अर्कोतर्फ अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरुलाई शेयरिङ गर्नुका साथै क्रेडिट युनियन एक्टको सन्दर्भमा विश्लेषण सहितको वेआउट दिने कार्यक्रम छ । स्परिच्युअल इन्टेलिजेन्ट म्यानेजमेन्ट अन्तर्गत अहिलेको अवस्थामा तनाव व्यवस्थापनको पाटोमा पनि केहि सिकाउने कार्यक्रम छ । अहिले सहकारीका सिइओ वा व्यवस्थापकले तनाव भोगिराख्नुभएको अवस्था छ । त्यसको निवारणका लागि गोष्ठीमा सिकाउने तयारी गरिएको छ । विगतको भन्दा यसपटकको गोष्ठी धेरै अर्थमा फरक रहनेछ । अहिलेको समसामयिक घटनाहरुलाई बढी समेटिएकाले गर्दा गोष्ठी अझ प्रभावकारी हुने अपेक्षा लिएका छौं।

गोष्ठीको औचित्य
जब पैसा भयो तब सबै समस्या समाधान हुन्छ भन्ने कतिपयलाई लागेको छ । तत्कालको लागि त त्यो ठिकै हो । तर पैसा लिन पनि त क्षमता चाहिन्छ । जसले पैसा आवश्यक छ भनिराख्नु भएको छ, सदस्यबाट बचत लिन सक्ने क्षमता छ कि छैन ? त्यसलाई पनि विश्लेषण गर्नुपर्छ । अर्कोतर्फ नेफ्स्कुनसँग सदस्य संस्थालाई दिन पर्याप्त तरलता छ । हामीसँग दिन सक्ने क्षमता छ । तर संस्थाहरुको लिन सक्ने क्षमता पनि सँगसँगै चाहिन्छ । विगतको ट्रेण्ड, अहिले भइरहेको अभ्यास र उहाँहरुले गरिरहेको अभ्यासका साथै सबै आवश्यकताहरु पूरा भएपछि कर्जा दिन सकिन्छ । कतिपय सहकारीकर्मीले तत्काललाई त्यसरी मात्र हेर्नुभएको छ । वास्तविक रुपमा संस्थालाई जीवन्त बनाइराख्न र समस्या उब्जनै नदिन जोखिम बहन क्षमता कसरी बढाउने र त्यसतो अवस्था नै आउन नदिनको लागि के गर्ने भन्ने उपायका लागि यस्ता गोष्ठीको आवश्यकता अझ छ भन्ने मलाई लाग्छ । उत्कृष्ट अनुभव र असल अभ्यासबाट ज्ञान लिन सकिने भएकाले तत्कालको आवश्यकता तरलता व्यवस्थापन भएपनि सिकाइले संस्थालाई जीवन्त राख्न धेरै सहयोग गर्छ त्यसैले पनि गोष्ठीले त्यतिकै महत्व राख्छ।

हामीले संस्थागत आम्दानीको केहि प्रतिशत रकम क्षमता अभिवृद्धिमा पनि लगाउनुपर्छ । यो संस्थागत सञ्चालनको नियम पनि हो । हामीसँगै काम गर्ने जनशक्तिलाई पोख्त पार्न र अनुभवी बनाउन सकिएन वा नयाँ कुराहरुलाई अपडेट गर्न सकिएन भने संस्था सञ्चालनमा समस्या आउँछ । त्यसकारण नयाँ ज्ञान र सीप दिन गोष्ठी धेरै नै महत्वपूर्ण छ भन्ने मलाई लाग्छ। 

अन्त्यमा...
सिईओ वर्कशपमा नाम दर्ता गर्न अब मात्र केही दिन बाँकी छ । यसप्रकारको गोष्ठी कुनै एक संस्था वा व्यक्तिले चाहेर सानो फोरममा गर्न सकिँदैन । त्यसका लागि ठूलै व्यवस्थापन आवश्यक पर्छ । अन्तर्राष्ट्रिय श्रोत व्यक्तिहरु र नेपालका विभिन्न निकायका विज्ञ सहित अनुभवी मस्तिष्कलाई एउटै मञ्चमा उभ्याउँदैछौं । विशेषत वित्तीय सहकारीहरुको समस्या समाधानका लागि र आगामी समयमा एउटा व्यवस्थापकले निर्भिक भएर काम गर्ने वातावरण सिर्जना गर्नका लागि गोष्ठी अवश्य लाभदायी हुनेछ । सहकारीका व्यवस्थापकले थप ज्ञान, सीप र सूचना अपडेट गर्नका लागि पनि गोष्ठी फलदायी हुनेमा दुईमत छैन । नेफ्स्कुनले प्रत्येक ३ वर्षमा यस प्रकारको गोष्ठी गर्ने भएकाले आसन्न अवसर नछुटाउन अपील गर्छु । साकोसका व्यवस्थापन प्रमुख र त्यस प्रकारको जिम्मेवारीमा रहनुभएकाहरुलाई यो सुनौलो अवसर हो । असल अन्तर्राष्ट्रिय अभ्यासहरुलाई आन्तरिकीकरण गर्न सहयोग पुग्ने थलो यो गोष्ठी भएकोले सरोकारवाला सबैलाई सहभागिताका लागि आव्हान गर्दछु ।
 

Advertisment

थप समाचार