काठमाडौं : सहकारी क्षेत्रका व्यवस्थापन प्रमुखहरुको भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित ‘व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी’ हुने भएको छ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले हरेक तीन वर्षमा साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी गर्दै आएको छ । तेस्रो संस्करणमा हुने गोष्ठीको मुख्य एजेण्डा प्रविधि र सुशासन रहेको छ। गोष्ठी फागुन २४ र २५ गते काठमाडौंको द सोल्टी होटलमा हुँदैछ।
“प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन” भन्ने सोचसहित सञ्चालन हुन गइरहेको राष्ट्रिय गोष्ठीमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषय विज्ञहरुको सहजिकरण रहने आयोजकले जनाएको छ।
गोष्ठीमा साकोस अभियानको मार्गदिशा, वित्तीय सहकारीको छवी निर्माण र संरक्षण, विश्व अर्थतन्त्र र सहकारीमा परेको प्रभाव विषयमा छलफल हुनेछ । त्यस्तै वित्तीय प्रविधिहरुको विकास र आन्तरिकीकरण, साकोस अभियानको दीगो विकासमा अन्तर्राष्ट्रिय अनुभवहरु, साकोस अभियानका सफल व्यवस्थापन प्रमुखहरुको अनुभवका साथै व्यवस्थापन क्षेत्रको नयाँ अवधारणा ईमोशनल एण्ड स्पिरिचुअल ईन्टेलिजेन्स लगायतका विषयहरुमा छलफल हुने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश प्रसाद पोखरेलले जानकारी दिए।
नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापन सहयोगमा आयोजना हुने गोष्ठीमा करिब ४ सय व्यवस्थापकहरुको सहभागिता रहने सिईओ पोखरेलले बताए । सहभागी नाम दर्ता लगायत अन्य व्यवस्थापकीय कार्यहरु योजनाबद्धरुपमा अगाडि बढीरहेको समेत पोखरेलले बताए।
उपलब्ध स्थान, स्रोत साधनको व्यवस्थापनलाई ध्यान दिँदै सिमित सिटमा मात्र आवेदन खुला गरिएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न नेफ्स्कूनले आव्हान गरेको छ। लागत सहभागिताका आधारमा आवेदन गर्न सकिने गोष्ठीमा सहभागिताका लागि संघले निश्चित योग्यतासमेत तोकेको छ।

Advertisment