काठमाडौं : बैंक तथा वित्तीय संस्थाका कारणले मान्छे घरमा नबस्ने स्थिति बन्दै गएको व्यवसायी दुर्गा प्रसाईंले बताएका छन्। झापामा लघुवित्तका कारणले तीनजनाले एउटै रुखको हाँगामा झुण्डिएर आत्महत्या गर्न बाध्य भएको समेत बताए। ‘त्यो के कारणले भयो भनेर खोज्नुपर्दैन ? प्रेमप्रसादले त्यसै बानेश्वरमा आत्मदाह गरेको हो र ? यो त राज्यप्रणाली र बैकिङ सिस्टमको दोष हो। त्यस्तो सिष्टमलाई सुधार्नुपर्छ’, प्रसाईले भने।
आर्थिक मिडिया सञ्चालक संघ (इमान)सँगको छलफलका क्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुबाट पीडितहरुको संख्या लाखौं भएको बताए । उनले भने– ‘२० लाखभन्दा मुनिको कर्जा मिनाहा हुनुपर्छ ।’
प्रसाईले सरकार नै जनतालाई उठिबास लगाउन लागिपरेको संकेत गर्दै भने, ‘भूमि आयोग गठन गर्ने, सुकुम्बासीलाई जग्गा दिने, बैंक तथा वित्तीय संस्था, लघुवित्तले लिगलीरुपमा लिलाम गर्दै जाने, आफ्नो कब्जामा लिंदै जाने । यो लुकिछिपी कहिलेसम्म गर्ने?’
आफू पनि बैंकको ऋणि रहेको भन्दै उनले नियमित रुपमा ब्याज बुझाइरहेको बताए । ठूला ऋणीलाई भन्दा पनि साना ऋणीहरुको संरक्षण जरुरी रहेको भन्दै उनले २० लाखसम्म ऋण मिनाहा गर्नुपर्ने बताए । यसका लागि राज्यले नै सहयोग गर्नुपर्ने उनको भनाइ छ। धेरै उद्यमीहरुले ऋणका कारण आत्महत्या रोज्नुपरेको भन्दै उनले त्यसलाई भयावह स्थिति हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए।
बैंकहरुको अराजक शैली अहिले केही सुधार भएको समेत बताए।
Advertisment